के मलाई थाहा छैन र, रंगको भाँडो आफैमा सत्य होईन…. पोखिनु अनि मिसिनु पर्छ चित्र बन्न भनेर???
एकाकार भएका रंगहरुले प्रतिनिधित्व गर्छ जीवनका सफलता-असफलताहरु। अनि कति रंगहरुका बट्टाहरु खुले, कति पोखिए क्यानभासमा अनि भुईंमा कति पोखिए, कति बुरुसहरु भाँचिए-बिग्रिए पर्दा पछाडीको कथा अर्कै छ।
संघर्षको कथामा सहयात्रीहरु फेरिए……परिवेश फेरियो। केही नयाँ आशा थपिए- केही निराशाहरु बटुलिए।
कस्तो अचम्म- आँखाले देखेका र भोगेको सत्यलाई आत्मसात गरेर अघि बढ्न सक्ने मान्छे भावुकताको पकडमा कति सजिलै आफुलाई समाहित गरिदिन्छ। पर्खि बस् म पापा लिएर आउँछु भन्दा कति सजिलै गुलियो आशाको लोभमा सजिलै जान दिन्छ। मानौं उ अफिस हिड्न तयार भएको बाउ हो र भरे फर्किदा उसको तलबको सानो हिस्साबाट मिठाई ल्याएर दिने छ।
आश्वासन दिएर- आशा देखाएर गएकाहरु फर्किदैनन्। समय फर्किदैन र स्थिर केही छैन- यो सत्य बिर्सेको छैन।
म रमाईरहेछु त्यही बाटोमा बसेर….. जहाँ समयले मलाई डमरु बजाएर नचायो। म अझै नाँचिरहेछु सत्यसंग परिचित भएर पनि। भिडमा रमितेहरुको खाँचो थिएन कहिले। अनि त्यही भिडमा पाएँ मैले रंगहरुको रचयिता… संयोजनकर्ता…..
तिम्रो अमूर्त रुप म देख्न सक्छु- महशुस गर्न सक्छु।
हे ईश्वर! तिम्रै यही उपस्थिती मेरो लागि काफी छ। धन्य छ मलाई 
